काठमाडौं । नेकपा माओवादी केन्द्रको आगामी राष्ट्रिय सम्मेलन संघीय राजधानी काठमाडौंमा हुने भएको छ । नेकपा माओवादी केन्द्रको मङ्गलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको छ । साथै प्रदेश पदाधिकारीहरूका सम्बन्धमा भने पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेशभित्रका केन्द्रीय कमिटी सदस्यहरूसँग परामर्श गरेर टुङ्गो लगाउने निर्णय समेत गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी गराए ।
बैठकले पाँच दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय भएको पनि प्रवक्ता महराले जानकारी दिए ।
बैठकमा एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमति कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडि नबढाउने बारे छलफल भएको छ । माओवादी केन्द्र न्यायालयभित्रको विवाद न्यायालय आफैँले टुङ्ग्याउनुपर्ने पक्षमा रहेको प्रवक्ता महराले बताए ।