काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन तथा ८ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलन कमलादीस्थित प्रज्ञा भवनमा आइतबार दिउँसो १ बजे उद्घाटन हुने कार्यक्रम छ । शुरुमा राष्ट्रिय सम्मेलन भनेको माओवादीले यसलाई ८औं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो । शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई आजै बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ । सम्मेलनमा १६ सय भन्दा बढी प्रतिनिधीले भाग लिँदैछन् । उनीहरु काठमाडौं आइसकेका छन् । १४८३ नियमित क्रियाबाट छानिएका र १० प्रतिशत अर्थात १४८ जना मनोनीत प्रतिनिधि सहभागी हुनेछन् ।
आयोजक समितिबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् । सम्मेलनबाट १५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय नयाँ नेतृत्व पनि चयन हुनेछ । हालसम्म अध्यक्षमा पुष्पकमल दाहाललाई टक्कर दिने अर्को नेतृत्व खडा भइसकेको छैन । उपाध्यक्ष, महासचिव र सचिवलगायतका पदमा भने निर्वाचनको सम्भावना छ ।