माओवादी केन्द्रले एकै दिन गर्यो दुई पार्टीसँग एकता

समझदारी पत्रमा हस्ताक्षर पाटन (ललितपुर), १२ जेठः नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी समायोजनका लागि सोमबार ललितपुरमा आयोजित कार्यक्रममा समझदारी पत्रमा हस्ताक्षर गर्नुहुँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी पार्टीका नेता गङ्गानारण श्रेष्ठ । तस्बिरः माधवप्रसाद घिमिरे/रासस

१२ जेठ, पाटन । नेकपा माओवादी केन्द्रले आज एकै दिन दुई पार्टीसँग एकता गरेको छ । समाजवादी पार्टी र नेपाल राष्ट्रिय पार्टीबीच माओवादीले एकता गरेको हो । सो अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अगाडि बढाएको बताए । उनले गत आमचुनावदेखि नै एकताको पक्षमा छलफल चलाएको र विचार, राजनीतिक आस्थाका आधारमा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर जारी रहेको उल्लेख गरे ।


“सबै कम्युनिस्ट एक ठाउँमा हुँदा जनमत ठूलो हुन्छ, यो एकताले ठूलो ढोका खोल्नेछ, महेन्द्र राय यादवसँग पनि छलफल भइ नै रहेको छ । पार्टीको नामको कारणले उहाँ महाधिवेशनसम्म बहिरै हुन चाहानु भएको छ, उहाँ पनि यो एकता प्रक्रियामा समाहित हुनुहुनेछ”, अध्यक्ष प्रचण्डले भने, “गंगानारायण श्रेष्ठले जे प्रतिबद्धता गर्नुभएको छ, त्यो सराहनीय छ ।” आज सुरू भएको प्रयास दूरगामी राजनीतिक महत्त्वको प्रयास भएको बताउँदै उनले आजको प्रयासले शक्तिशाली समाजवादी आन्दोलनलाई अगाडि बढाउने धारणा राखे ।


आफूसहित नेपाल समाजवादी पार्टीका नेताहरूलाई नेकपा (माओवादी केन्द्र) मा समायोजन भएको अवसरमा गरिएको समझदारी पत्रमा हस्ताक्षर गरेपछि नेता गंगानारायण श्रेष्ठले नेताहरूको दोष नहुँदानहुँदै पनि समृद्धिको यात्रामा समाजवाद निर्माणका लागि बहसलाई अगाडि बढाउने क्रममा पार्टी छिन्नभिन्न हुन पुगेको बताए । उनले विगतको प्रयोगबाट नेपालको समृद्धि हासिल गर्ने परिणाम आउन नसकेको तर्क गरे ।


नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिमा रहेका दुई तिहाई सदस्यले अनुमोदन गरेर एकतामा आएको श्रेष्ठले स्पष्ट पारे । उनले हिजो जानअन्जानमा गरेका गल्तीबाट देश र पार्टीले क्षति भोग्नुपरेको भन्दै विचार र राजनीतिक एजेन्डा मिल्नेहरू छुट्टाछुट्टै भएर बस्नु आवश्यक नभएकाले एकता प्रक्रियामा सामेल भएको बताए ।