काठमाडौं । माओवादी केन्द्रले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन पार्टीले निर्देशन दिएको हो । पेरिसडाडाँमा आज बसेको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो ।
वर्तमान सरकारमा गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी माओवादीबाट सरकारमा रहेका छन् । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरिसकेको सन्दर्भमा माओवादीले सबै नेतालाई सरकारबाट फिर्ता आउन भनेको हो ।
ओलीतिर लागेका यी मन्त्रीहरुलाई २४ घण्टे स्पष्टीकरण समेत सोधिएको छ । माओवादी मन्त्रीहरु भने अब ओलीतिरै बस्ने निर्णयमा पुगिसकेका छन् । माओवादी केन्द्रले आइतबार एघार बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ। नयाँ सरकारका विषयमा भएको छलफलबारे भने सार्वजनिक गरिएको छैन ।