काठमाडौं । माधव कुमार नेपालले संविधानको रक्षा र गैरसंवैधानिक कदमका विरुद्ध चालेको कदममा साथ दिएका एमालेका केही नेताले अन्त्यमा उनको साथ छाडेका छन् । उनको साथ छाडेका नेताहरु अन्ततः केपी शर्मा ओली पथमा विलय भएका हुन् । आज नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बोलाइएको छ । बैठकमा एकता पक्षधर भन्दै प्रचार गरि अन्नतः ओलीको शरणमा पुगेका नेता समेत सहभागी हुने भएका हुन् ।
ओलीले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न सहमति जनाएपछि उनीहरु एमालेमै बस्ने निर्णयमा पुगेका हुन् । माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा नगएका युवराज ज्ञवाली, भिम आचार्य, भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्यलगायत नेता यो खेमामा छन् ।
स्थायी कमिटी बैठकले १० बुँदे सहमतिअनुसार एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्काउने कार्यतालिका बनाउने बताइएको छ । तर, ओलीले माधव कुमार नेपालसहित १४ सांसदमाथिको कारवाही फिर्ता लिनुपर्ने अडान भने उनीहरुले त्यागेसँगै स्वयमः ती नेता नै एकताको पक्षमा थिएनन् भन्ने पुष्टी भएको छ ।