माधव नेपालविरुद्ध केपी ओलीको आक्रोस, लगाए ‘देशद्रोही’को गम्भीर आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई देशद्रोहीको गम्भीर आरोप लगाएका छन् । ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल आन्दोलन विरोधी र देशद्रोही भएको भन्दै उनको एमालेमा अब कुनै ठाउँ नरहेको समेत बताए । वरिष्ठ नेता नेपाल पक्षले एमालेका अध्यक्ष ओलीको राजिनामा मागिरहेको समयमा उनको यस्तो उद्घोष आएको हो ।

एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले भने ‘माधव नेपाल जस्ता आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन, ‘वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर ह्वीप क्रस गर्ने ।’

ओलीले जनताको सरकार ढलेर दक्षिणपन्थीको पार्टी बनेको समेत आरोप लगाए । माधव नेपालले प्रतिक्रियावादीहरुसँग मिलेर एमालेको सरकार ढालेको उनको आरोप छ । पार्टीको सरकार ढल्दा अग्रगमनको आफ्नो सपनामै ढक्का लागेको उनको भनाई छ । पार्टीको सरकार ढल्दा जनताको सरकार ढलेको भन्दै अहिले दक्षिणपन्थीको सरकार बनेको ओलीको आरोप छ ।

उनको यो उत्ताउलो भाषणले एमालेमा तत्काल एकताको सम्भावना क्षीण भएको देखिएको छ । किनकी आजै राजधानीमा आयोजना भएको अर्को एक कार्यक्रममा माधव नेपाल पक्षका नेताहरुले एकता चाहने भने हो भने ओलीले अध्यक्ष पदबाट राजिनामा दिनुपर्ने बताएका छन् ।