माधव नेपाल पक्षले निर्णय दिन नसक्दा मन्त्रीपरिषद् बिस्तार अलमल

काठमाडौं । सरकार गठन भएको तीन साता बितिसकेको छ । तर, प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रीपरिषद् बिस्तार गर्न सकेका छैनन् । यसबाट उनको आलोचना बढेको छ । सत्ता साझेदार दलहरुमध्ये नेकपा एमालेको माधव नेपाल पक्षले ठोस निर्णय दिन सकेको छैन । सोहीकारण देउवाले मन्त्रीपरिषद् बिस्तार गर्न नपाएका हुन् । माधव नेपाल पक्षमा दुई धार छ ।

एउटा धार सरकारमा जानुपर्ने पक्षमा छ । अर्कोधारका नेताहरु भने एकताको पक्षमा छन् । उता, एमाले अध्यक्ष केपी ओली समेत माधव नेपाल पक्षलाई निरन्तर फकाइरहेका छन् । उनको जोड माधव नेपाल बीनाको पार्टी एकतामा छ । एमालेका दोस्रो नेताका तेताहरुले समेत अब एमालेमा माधव नेपालको स्थान नभएको भन्दै उत्तेजित भाषण दिइरहेका छन् ।

यता, सरकारलाई पूर्णता दिन नसक्दा भने देउवाको आलोचना शुरु भएको छ । अहिले मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित ६ सदश्यीय रहेको छ । स्वास्थ्य मन्त्रालयमा पूर्ण मन्त्री छैनन् । यहाँ देउवाले राज्य मन्त्रीमा व्यापारी पृष्ठभूमिका सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेपनि यो निर्णय आलोचित बन्न पुग्यो । अन्य दलबाट थप मन्त्रीको नाम आएको छैन ।

यसमा माधव नेपाल पक्षलाई कति मन्त्री दिने वा सो समूह आउने, नआउने निश्चित नभएका कारण अन्य दलले समेत नाम दिन सकेको छैनन । यसैबीच बुधबार माधव नेपाल पक्षका केन्द्रिय सदस्यहरुको बैठक आज राजधानीमा बोलाइएको छ । यो बैठकले ठोस निर्णय लिन सक्ने अपेक्षा गरिएको छ ।