मारियुपोल युक्रेनबाट मुक्त गरेको रुसको दाबी, सेनाले फहराए रुसी झण्डा

काठमाडौं । रुस–युक्रेन युद्ध भएको ५६ दिन रुसले यूक्रेनको सबैभन्दा ठूलो बन्दरगाह सहर मारियुपोललाई कब्जामा लिएको छ ।

लामो समयदेखि ठूलो लडाइँ चलिरहेको मारिओपोलको एजोभस्टल स्टिल कारखाना पनि कब्जा गरेसँगै रुसले सहर नै आफ्नो नियन्त्रणमा आएको बताएको छ ।

मारिओपोलका बाँकी ठाउँ अघिल्लो हप्ता नै कब्जा गरे पनि रुसले एक विशाल स्टिल कारखाना नियन्त्रणमा लिन सकेको थिएन । रुसले यसअघि तीन पटकसम्म आत्मसमर्पणको अल्टिमेटम दिए पनि युक्रेनी सेनाले आत्मसमर्पण गरेका थिएनन् ।

अर्कोतर्फ रुसी सेनाले आक्रमणलाई तिब्र बनाएको छ । बुधवार युक्रेनमा एकै दिनमा ११ सय आक्रमण भएको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबासमा २०,००० भाडाका सैनिकहरू तैनाथ गरेका छन्। रुसले सिरिया, लिबिया र जर्जियाबाट यी भाडाका सैनिकहरूलाई आफ्नो सेनाको अज्ञात समूह वाग्नर समूहमार्फत तैनाथ गरेको छ।

लुहान्स्कका गभर्नर सेर्ही गैडाईले अप्रिल १८ मा क्रेमिना कब्जा गरेपछि रुसी सेनाले निरन्तर अगाडि बढेको बताए। अहिलेसम्म रुसी सेनाले यस क्षेत्रको ८० प्रतिशत कब्जा गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रुसलाई युद्ध रोक्न निरन्तर आग्रह गरिरहेका छन् ।

उनले फेरि रुसी राष्ट्रपतिलाई युद्ध अन्त्यका लागि आमनेसामने बसेर वार्ता गर्न आग्रह गरेका छन् । यससँगै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि भेट्न आग्रह गरेका छन् ।