काठमाडौं । बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०का उपविजेता सन्तोष साहलाई नेपालका लागि बेलायती राजदूत निकोला पोलिट बधाई दिएकी छिन् । साह अहिले नेपालमा छन् । उनलाई नेपालमा आतिथ्य उद्योगले भब्य स्वागत समेत दिएको छ । बेलायती राजदूत निकोला पोलिटले सेफ सन्तोष साहसँग भेट गरी बधाई ज्ञापन गरेकी हुन् । राजदूत पोलिटले सन्तोषलाई बेलायत लगायत विश्वभर नेपाली खाना चिनाउन लागिपरेको भन्दै बधाई दिएको उल्लेख गरेकी छिन् ।
उनले ट्वीट गर्दै यसबारे जानकारी दिएकी हुन् । सेफ सन्तोष साहसँग निकै रमाइलो कुराकानी भएको र नेपाली खानालाई बेलायत र विश्वभर प्रसिद्ध पार्ने उनको योजना सुनेर आफु धेरै नै खुशी भएको उनले बताएकी छिन् ।
विश्वपसिद्ध उक्त प्रतियोगितामा उपविजेता बनेका साहले विश्वमा नेपाल र नेपाली खानालाई परिचित गराउन भूमिका खेलेका थिए । साह सिराहाको कर्जन्हामा जन्मेका हुन् । उनी पछिल्लो १० वर्षदेखि बेलायतमा सेफका रुपमा कार्यरत छन्। यस पेशामा उनको अनुभव भने २० वर्षभन्दा लामो छ ।