मास्टर सेफ साहले अष्ट्रेलियामा रैथाने खानाको प्रवर्धन गर्ने

काठमाडौं । मे ३ देखि ७ तारिखसम्म अस्ट्रेलियाको नमस्ते रेस्टुरेन्टमा नेपाली खानाको प्रवर्धन कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली खाना प्रवर्धनका लागि अस्ट्रेलियामा भएको अस्ट्रेलियन प्यासिफिक इनटरनेशनल कलेज र प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी मैतीदेवीको संयोजकत्वमा खाना प्रवर्धन कार्यक्रम हुने भएको हो । नेपाली खानालाई विश्वभर प्रचारप्रसार गर्दै आएका मास्टर सेफ सन्तोष साहको आफ्नै मेनुमा अस्ट्रेलियनलाई नेपाली खानाको स्वाद र परिकारहरू पस्किने कार्यक्रम रहेको छ ।

नेपाली मेनुमा २० प्रकारका खानाको परिकार र नेपाली एला पनि समावेश हुनेछ । खाना प्रवर्धन कार्यक्रममा टिकट मूल्य प्रतिव्यक्ति १८० देखि २०० अस्ट्रेलियन डलर तोकिएको छ । सेफ साहले नेपाली खानाको प्रवर्धनका लागि अस्ट्रेलियामा कार्यक्रम गर्न लागेको बताउनुभयो । उहाँले नेपाली खानाले पनि विश्वमा न्याय पाउनुपर्छ र पुस्तकमा मात्रै भनेर र सुनेर होइन नेपाली खानाको स्वाद विदेशीले चाख्नै पाउनुपर्छ भनेर नै आफूले अस्ट्रेलियामा नेपाली खानाको प्रवर्धन गर्न लागेको बताए ।