मिसन पुरा भएसँगै विपक्षी गठबन्धनबाट अलग भयो एमालेको माधव समूह

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरेको समूह विपक्षी गठबन्धनबाट अलग भएको छ । आज बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले यस्तो जानकारी गराएका हुन् । संविधानको रक्षा गर्ने मिसन पुरा भएको र परिस्थिति फेरिएको भन्दै उनले अब आफु गठबन्धनमा नलाग्ने बताएका हुन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएलगत्तै विपक्षी दलको बैठक आज कोटेश्वरमा बसेको थियो ।

बैठकमा एमाले वरिष्ठ नेता नेपालले आफ्नो परिस्थिति फेरिएको भन्दै अब गठबन्धनमा नरहने जानकारी गराएका हुन् । पार्टीमा एकताका लागि प्रयास भएको भन्दै अब भने पार्टीको निर्णय अनुसार नै चल्ने संकेत उनले गरेका हुन् । एमाले अध्यक्ष ओलीले दुई पटक सम्म संविधान विपरित संसद विघटन गरेपछि नेता नेपाल विपक्षी गठबन्धनमा सहभागी भएका थिए ।

प्रतिनिधिसभा र संविधान बचाउने अभियानमा भने आफु साथमै रहेको सन्देश उनले गठबन्धनलाई दिएका छन् । पार्टी एकता र संसद पुनर्स्थापनापछि गठबन्धन असान्दर्भिक भएको उनको निष्कर्ष छ । एमालेका २६ सहित १४९ सांसदको हस्ताक्षरलाई सर्वोच्चले वैधानिकता दिएको छ ।