काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभामा भएको मतदानमा राईको पक्षमा ५० र विपक्षमा २९ मत परेको हो ।
बैठकमा ७९ जना सांसद उपस्थित थिए । तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि विपक्षी गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका नेता राई कात्तिक १६ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।
राईले यसअघि मंगलबार नै विश्वासको मत लिने भनिए पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देखाउदै सांसद आउन नसक्ने भनेर प्रमुख प्रतिपक्षी एमालेका सांसदले मंगलबारको बैठक रोक्न माग गर्दै निवेदन दिएपछि स्थगित भएको थियो ।
प्रदेशसभामा कुल ९२ जना सांसद छन् । प्रतिपक्षी एमालेको सभामुखसहित ४१ सांसद छन् । यता विपक्षी गठबन्धनमा आवद्ध दल कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १० र जनता समाजवादीका तीन जना गरी ४९ जना सांसद छन् ।