मुख्यमन्त्री शाहीमाथिको राजनीतिक संकट टर्‍यो, सचेतकमा कुर्मराज नियुक्त

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथिको राजनीतिक संकट तत्कालका लागि टरेको छ । मुख्य मन्त्रीलाई हटाउने योजनामा हस्ताक्षर गरेका नेकपाका भित्रका माधव नेपाल समूह पछि हटेपछि तत्कालका लागि संकट टरेको हो ।

तीन मन्त्री र एक सचेतक पाएपछि नेपाल समूह अविश्वासको प्रस्तावबाट पछि हट्न राजी भएको हो । नेता नेपाल पक्षले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही बहुमतमा पुगेका छन्।

मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्र बहादुर शाहीले पार्टीको सचेतकमा सांसद कुर्मराज शाहीलाई नियुक्त गरेका छन् ।

शाही कालिकोटबाट निर्वाचित हुन् । हिजोमात्रै मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर उनको ठाउँमा सीता नेपालीलाई ल्याएका थिए ।

नेपाली पहिले सचेतकको जिम्मेवारीमा थिईन् । पार्टी यद्यपि ओली पक्षीय प्रदेश सदस्यहरुले भने हस्ताक्षर फिर्ता लिन आनाकानी गरिरहेका छन् ।

नेपाल पक्षीय प्रदेश सभा सदस्यहरु भने हस्ताक्षर फिर्ता लिन सहमत भइसकेको एक प्रदेश सदस्यले जानकारी दिए । नेपाल पक्षका सांसदहरु आज असन्तुष्ट पक्षले बोलाएको संसदीय दलको बैठकमा समेत सहभागी भएनन् ।

शाहीविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि अध्यक्ष पुष्पकमल दाहालले नेता माधवकुमार नेपाल र प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका थिए ।

दाहाललले नेता नेपालसँग भेटेर कुरा गरेपछि नेपालले नेकपाका केन्द्रीय सदस्य नीरज आचार्यलाई समस्या समाधान गर्न सुर्खेत पठाएका थिए । नेता आचार्यले सुर्खेत पुगेर हस्ताक्षरकर्ता नेता नेपाल पक्षधरका सांसदहरूसँग छलफल गरेका थिए ।