काठमाडौं । नेपालकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयबाट प्रदान गरिने एक प्रतिष्ठित अवार्ड प्राप्त गरेकी छिन् । उनी वीरगन्जकी छपकैयाकी हुन् । काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड जित्न सफल भएकी हुन् । दूतावासले उनलाई धेरै धेरै बधाई समेत लेखेको छ । यो अवार्ड जित्ने मुस्कान पहिलो नेपाली बन्न सफल भएकी छिन् ।
खातुन संसारकै सबैभन्दा कम उमेरमा अवार्ड पाउने व्यक्ति समेत बनेकी दुतावासले उल्लेख गरेको छ । खातुन एसिड पिडित किशोरी हुन् । उनलाई गत वर्ष विद्यालय जाँदै गर्दा बाटोमा तेजाब आक्रमण भएको हो । त्यसपछि उनी एसिड आक्रमण अन्त्य गरी उनीहरुको सुरक्षाका लागि निरन्तर सक्रिय छिन् ।
सोहीकारण उनले यो अवार्ड पाएको दूतावासको भनाई छ । यो अवार्ड पाकिस्तानकी नोबेल पुरस्कार विजेता मलाला युसफजाईले समेत पाइसकेकी छिन् ।