काठमाडौं । अमेरिकाको नेशनल जियोग्राफिक म्यागजिनले तयार पारेको विश्वका उत्कृष्ट होटलको सूचीमा नेपालको मुस्ताङस्थित सिन्तामणि पनि परेको छ । यो सूचीमा एसिया महादेशबाट तीनवटा होटल पर्न सफल भएका छन् । जसको पहिलो स्थानमा नेपालको सिन्तामणि परेको हो । स्थानीय ढुंगा प्रयोगबाट निर्मित यो रिसोर्ट दुई वर्षअघि मात्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो । पदयात्रा, स्थानीय परिकार र संस्कृतिका कारण यो रिसोर्ट उत्कृष्ट सूचीमा परेको हो । यहाँ शताब्दिऔं पुराना बौद्ध गुम्बाको अनुभूति गर्न सकिन्छ ।
हिमाली याकको मोमो, तिब्बती थुक्पा जस्ता परिकारको समेत नेशनल जियोग्राफिकले प्रशंसा गरेको छ । यो सूचीमा श्रीलंकाबाट कुरुलु बे र भुटानको इन्ड बियोन्ड पुनाखा रिभर लजसमेत परेका छन् । नेशनल जियोग्राफिकका सम्पादक, लेखक, फोटोग्राफर र अन्वेषकले यो सूची तयार पारेको यसको अनलाइन साइटले जनाएको छ ।
नेपालको हिमालयको दुर्गम स्थानदेखि लक्स लन्डन क्र्यास प्याडसम्म मन पराइएका उत्कृष्ट होटलमा परेका छन्,’ नेशनल जियोग्राफिकले लेखेको छ । नेशनल जियोग्राफिक अमेरिकाबाट सन् १८८८ देखि निरन्तर प्रकाशित हुँदै आएको मासिक म्यागाजिन हो । यसको मासिक सर्कुलेसन १८ लाख प्रति छ ।