काठमाडौं । मेक्सिकोग्वाटेमाला सीमा नजिक मेक्सिकोको सीमा बलले गोली हानेको ट्रकमा ११ जना नेपाली रहेको पुष्टि भएको छ । ती मध्ये ३ जनाको घाइते अवस्थामा उपचार भइरहेको छ । ११ जनानै मेक्सिको अध्यागमनको हिरासतमा रहेको बासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ । घटनामा कुनै पनि नेपालीको मृत्यु भएको छैन । दूतावास सम्बन्धित मेक्सिकन अधिकारीहरूसँग सम्पर्कमा छ र थप सान्दर्भिक जानकारी उपलब्ध हुनेवित्तिकै घटनाको बारेमा थप अपडेट गर्नेछ, दूतावासको प्रेसनोटमा छ ।
नेपालीसहित ३३ आप्रवासी चढेको ट्रकमा मेक्सिकन सेनाले गोली हानेको थियोे ।उक्त घटनामा ६ जनाको ज्यान गएको थियो । मंगलबार साँझ ग्वाटेमालासँगको सीमाबाट करिब ४० किलोमिटर उत्तरमा भएको घटनामा थप १० घाइते भएको मेक्सिकोको रक्षा मन्त्रालयले जनाएको छ । ट्रकमा नेपालसहित भारत, पाकिस्तान, इजिप्ट, क्यूबा र अरबी नागरिक सवार थिए । मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार आक्रमणमा मारिएकामध्ये ४ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा ज्यान गएको हो ।
सैनिकहरू सीमा गस्तीमा रहेका बेला आप्रवासी चढेको गाडीबाट विस्फोटको आवाज सुनेपछि सेनाले गोली चलाएको जनाएको छ । समाचार संस्था रोयटर्सले भने अधिकारीहरूलाई उद्धृत गर्दै मेक्सिको–ग्वाटेमाला सीमाक्षेत्रको दक्षिण चियापास राज्यको हुइस्टलामा सैनिकहरूले आप्रवासी सवार ट्रकलाई चेकपोष्टमा रोक्न खोजेको तर नरोकिएपछि गोली चलाएको जनाएको छ । गोली चलाउने सैनिकहरूलाई निलम्बन गरिएको जनाइएको छ ।
अवैध बाटो (डकं रुट) हुँदै अमेरिका प्रवेश गर्नेहरूले मेक्सिको–ग्वाटेमाला सीमाक्षेत्रको दक्षिण चियापाको रुट प्रयोग गर्दै आउने गरेका छन् । मानव तस्कहरूले नेपाललगायत मुलुकका युवाबाट ठूलो रकम लिएर जोखिमपूर्ण यात्रा गराउँदै उक्त बाटोबाट अवैध रूपमा अमेरिका छिराउने गरेका छन् ।
पछिल्लो समय मेक्सिकोले त्यसरी प्रवेश गर्नेहरूमाथि कडा कारबाही गर्न थालेको छ । अमेरिकाले सीमामा हुने त्यस किसिमका गतिविधि रोक्न मेक्सिको सरकारलाई चेतावनी दिँदै आएको छ । अमेरिकी दबाबका कारण मेक्सिकोले सीमाक्षेत्रमा कडाई गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।