मेयर बनेको पहिलो दिनमै बालेन ल्याण्डफिल साइट अवलोकनमा

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर बनेको पहिलो दिनमै बालेन शाह शुक्रबार काठमाडौंको फोहोर फालिने सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइटको स्थलगत अनुगमन गर्न पुगेका छन् । पछिल्लो समय सिसडोल र बन्चरेडाँडामा नियमित गाडी जान नसक्दा काठमार्डौंमा फोहोर उठ्न सकेको छैन । स्थानीयले विभिन्न माग राखेर गाडीमा अवरोध गरिरहेका छन् । बालेन शुक्रबार धन्यवाद र्‍याली सकेर सिसडोल र बन्चरेडाँडा पुगेका हुन् ।

बन्चरेडाँडामा फोहोर बिसर्जनका लागि गएका गाडीलाई स्थानीयबासीले अवरोध भने जारी राखेका छन् । उनले स्थानीयहरुसँग फोहोर व्यवस्थापनको अवस्था र उनीहरुको मागबारे छलफल गरे । मंगलबारदेखि सरकारले प्रहरी लगाएर बन्चरेडाँडामा फोहोर विसर्जन गर्न प्रयास थालेको छ । उचित क्षतिपूर्ति, मुआब्जा र विभिन्न पूर्वाधारहरुको सुनिश्चितता नगरेसम्म दीर्घकालीन रुपमै फोहोर व्यवस्थापन गर्न नदिने स्थानीयको अडान छ । शहरी विकास मन्त्रालयले बनाएको बन्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर बिसर्जन सुरु भएपछि स्थानीयबासी आन्दोलित भएका हुन् ।