‘मेरो जीवन पनि सम्राट अशोकसँग मेल खान्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धका अनुयायी सम्राट अशोकको जीवनसँग आफ्नो जीवन पनि मेल खान जाने बताएका छन्।

२५६७ औं बुद्धपूर्णिमा एवं लुम्बिनी दिवसको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू ‘जनयुद्ध’बाट शान्ति प्रक्रियामा आउँदा बुद्ध दर्शनबाट प्रभावित बनेको बताएका हुन्।

विशेष कार्यक्रममा प्रधानमन्त्री दाहालले बुद्धमा भौतिकवादी र द्वन्द्ववादी दुबै गुण रहेको बताएका छन् । वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर बुद्धले भिक्षु संघको परिकल्पना र अभ्यास गरेको उनको भनाई थियो ।

नेपालको लुम्बिनीमा जन्मिनुभएका बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहीआएको छ ।

बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुबै हुनुहुन्थ्यो, वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर उहाँले भिक्षु संघको परिकल्पना र अभ्यास दुबै गर्नुभयो,’ बुद्धलाई स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘दर्शनको क्षेत्रमा मात्र नभएर चिन्तन र समाज विज्ञानको क्षेत्रमा उहाँको योगदान विश्वव्यापी रूपमा सर्वमान्य छ । तसर्थ, पूर्वीय दर्शन र सभ्यताको पछिल्लो युगमा बुद्ध सबैभन्दा प्रख्यात र मान्य व्यक्तित्व हुनुभयो ।’

‘बुद्धका अनुयायी मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको मार्गमा जाँदा जीवनको उत्तरार्द्धमा बुद्धका अनुयायी बनेजस्तै हाम्रो सन्दर्भमा समेत मेल खान जान्छ,’ प्रचण्डले भने।

प्रधानमन्त्री प्रचण्डले आमूल परिवर्तनको आकांक्षासहित सुरू गरिएको जनयुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित शान्ति प्रक्रियामा रूपान्तरण हुनुले क्रान्ति र शान्ति एकअर्काको पुरक रहेको बताए।