भीमनारायण श्रेष्ठ / शिकागो
उर्वर भूमि तराई मधेश विशाल
नागबेली पहाड पर्वतमाला
शित्तल छहारी चौतारी भञ्ज्याङ्ग
कलकल अविरल नदीनाला
चाँदी झैं लस्कर हिमश्रृंखला
विश्वमा अग्ला सगरमाथा
भरिपूर्ण यहाँ प्राकृतिक छटा
सुन्दर मनोरम देश नेपाल
देवगणका शान्तिभूमि
ऋषिमुनिहरुको तपोभूमि
ज्ञानी महर्षिको ज्ञानभूमि
सीता र बुद्धका जन्मभूमि
नेपाल आमाका पूण्यभूमि
बिश्व सम्पदाका स्वर्णभूमि
स्वर्णभूमिको सबल लालपूर्जा
धमिराले सबतिर प्वाल पारे
नेपाल आमाका सन्तानहरु
सपूत भनौ या कपूत
व्यभिचारी मनमा अड्डा जमाई
सिङ्गो कित्ताका भू–भाग आज
सात कित्तामा टुक्रा पारे
एकै प्रसूतिमा सात भाइ जन्मे
नामकरण न्वारनमा गर्न नसकी
सजिलै रोजे नम्बरले बोलाए
राजी भए सब अब भागवण्डामा
खुशीसाथ भोगचलन गर्ने आशमा
देशभक्त राष्ट्रवादी पछाडी धकेले
मूकदर्शक मनले आज पछुताए
सबूत प्रमाण छैन आमामा
साथमा हातमा लालपूर्जा
हरायो कतै चोर्यो कि कसले
सोधखोज गर्छु कुनाकाप्चा
थाहा पत्ता कतै लागिएन
न त पर्यो साँधवालाको हातमा
पर्यो कित्ता सीमा मिलाउन
न त कित्ताकाट गरी रमाउन
बन्धकी कतै राखे पो हो कि
या त माफियाको जालोमा फसी
कीर्ते बेचबिखनमा परेको हो कि
कुन धूर्तहरुको हातमा फस्यो
सोधखोज गर्न ग्ल्इ जान्छु
लगत अभिलेख भिडाउँछु
धन्य……………….!
आशाको त्यान्द्रो जीवितै पाउँछु
ढड्डामा नेपाल आमाको नाम देख्छु
कतै केही भएको रहेनछ
तापनि आफैमा विश्वास नलागी
विश्व मानचित्रमा नक्शा भिडाउँछु
सावितै जीवितै भेटाउँछु
नक्शा अनुसार साँध सीमा
स्थलगत नापजाँच गरी हेर्दा
मन कटक्क खान्छ
मरे तुल्य आभाष हुन्छ
नेपाली आमाको सन्तान म
जिउँदो लाश हुुनु परेकोमा
डाँको छोडी रुन मन लाग्छ
सँधियारहरुले साँध मिचेकोमा
टुलुटुलु हेरी
चित्त बुझाउन परेकोमा
दायाँतिरका सँधियार सजिलै मिच्छन्
दिन दहाडै निहु खोजी आउँछन्
बायाँतिरका पनि कमताका छैनन्
लिपुलेकको निधार ठाडै काट्छन्
भञ्ज्याङ्ग सुटुक्क आफ्नै पार्छन्
अन्त पनि सजिलै निल्न खोज्छन्
धन्य अग्ला कान्ला देख्छन्
सजिलै नाघ्ने आँट गर्दैनन्
स्वर्णलिपीको यो लालपूर्जा
खोसाखोस तानातानमा आज
धुजाधुजा हुने भयो डर