मेलम्चीको ठेक्का चिनियाँ कम्पनीलाई, दशैंपछि काम

काठमाडौं। मेलम्ची खानेपानी आयोजना निर्माण गर्न नयाँ ठेक्का सम्झौताको तयारी भएको छ । मेलम्चीको बाँकि काम सम्पन्न गर्न चिनियाँ कम्पनी छानिएको छ ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार सुरुङमार्ग फिनिसिङ र हेडवर्क्सको कामका लागि चिनियाँ कम्पनी सिनो हाईड्रो छनोट भएको हो ।

आयोजनाको मूल्यांकन समितिले उक्त कम्पनी छानेको हो । एसियाली विकास बैकले स्वीकृति दिएमा सोही कम्पनीले बाँकि काम सक्नेछ ।

एडीबी यस परियाजनाको लगानीकर्ता हो । यस कामका लागि चिनियाँ कम्पनी सिनो हाईड्रो र नेपाली कम्पनी हाई हिमालय हाईड्रो रमण जेभीको आवेदन परेको थियो ।

काठमाडौं उपत्यकाबासीलाई खानेपानीको हाहाकारबाट पार लगाउने लक्ष्य लिइएको यो आयोजना निर्माण कम्पनीले काम पुरा नगरी गएपछि विगत ६ महिना अगाडीबाटै अलपत्र अवस्थामा रहेको छ ।

आयोजनाको काम भने दशैंपछि मात्र शुरु हुने आयोजनाले स्पष्ट पारेको छ ।