मेलम्चीको पानी काठमाडौं पठाउन बन्द, वर्षा पछि मात्रै ढोका खोलिने

काठमाडौं । मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरू भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएको भन्दै मंगलबारदेखि मुल ढोका बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले मंगलबारदेखि पानी पठाउन बन्द गरिएको जानकारी दिए। उनले वर्षायामसँगै पानीको टनेल र सुरुङमा समस्या हुने आँकलनसहित हाललाई पानी पठाउने ढोकाहरु बन्द गरिएको बताए।

‘आजदेखि पानी पठाउन बन्द गर्न सुरु गरिसकेका छौं,’ उनले भनेका छन्, ‘पर्सीदेखि मनसुन सिजन सक्रिय हुँदै जाने भएकाले त्यसअघि नै बन्द गरिएको हो ।’

मुल ढोका बन्द गरिएसँगै महाँकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ । आजैदेखि मेलम्ची खानेपानी बितरण समय तालिकासमेत हेरफेर गरिएको छ ।

बन्द गरिएको सुरूङमार्ग अब वर्षापछि मात्रै खोलिने जनाइएकाे छ । गत वर्षको १ असारमा आएको बाढीका कारण मेलम्चीको मुहानमा क्षति पुगेको थियो । मर्मत सम्भार गरेर गत ११ वैशाखबाट पानी सुरूङमार्गमा पठाइएको थियो ।