मेलम्चीको पानी काठमाडौं आयो, दैनिक २२ करोड लिटर आउने

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची नदीबाट पठाएको पानी काठमाडौं आइपुगेको छ। दैनिक २२ करोड लिटर आउने गरी पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए। उनकाअनुसार बर्खायाममा मेलम्चीको बहाव बढी भएकोले दैनिक २२ करोड लिटरभन्दा धेरै पानी ल्याउन सकिनेछ। तथापि अहिले दैनिक २२ करोड लिटर मात्रै पानी पथान्तरण गरिएको छ।

मेलम्चीको पानीलाई सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा हालेर वितरण प्रणालीमा जोडिसकिएको छ। प्रशोधन केन्द्रको क्षमताभन्दा बढी पानी बागमती नदीमा पठाइएको छ। ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी मात्रै प्रशोधन गर्न सक्ने रहेछ, अर्को प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छैन, त्यसैले बढी भएको पानी अहिले बागमती नदीमा बगाइएको छ,’ उनले भने।

उनकाअनुसार मेलम्चीको पानी मंगलबारदेखि काठमाडौंमा वितरण सुरू भइसकेको छ। आन्दोलनरत स्थानीय र हेलम्बु गाउँपालिकासँग सोमबार राति सहमति भएपछि मंगलबारबाटै सुरूङमा पानी हालिएको थियो। स्थानीयवासीले आन्दोलन गर्न थाले पनि मेलम्ची खानेपानी विकास समितिले भित्रभित्रै तयारी भने गरी नै रहेकाले पानी पथान्तरण गर्न छिटो सम्भव भएको हो।

मेलम्चीको पानी काठमाडौंमा अस्थायी तवरले ल्याइएको छ। यसअघिका चार वर्षका हिउँद याममा पनि अस्थायी तवरबाट नै काठमाडौंमा पानी ल्याइएको थियो। २०७८ असार १, साउन १६ र १७ गतेको भेलबाढीपछि काठमाडौंमा अस्थायी तवरले पानी ल्याउने गरिन्छ। हिउँदयामभरि पानी ल्याउने र बर्खामा सुरूङ बन्द गर्ने गरिएको थियो।

अघिल्लो पटक सुरूङमा लेदो पसेकाले सफा गर्न समय लागेको थियो। यसपटक नदीको बहाव व्यवस्थित गरिएको र सुरूङको मुखमा छेकबार राखिएकाले लेदो पस्न नपाएको कार्यकारी निर्देशक लामिछानेले जानकारी दिए। मेलम्ची बाढी प्रभावितले राख्दै आएका माग केही तत्काल पूरा गर्ने र केही दीर्घकालीन रूपमा गर्ने गरी सोमबार राति सहमति भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ छ।