मेलम्ची । बाढीले क्षतविक्षत पारेको सिन्धुपाल्चोकको मेलम्चीलाई पुनः बाढीले सताएको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोकको मेलम्चीमा गतरातीदेखि बाढी आउन थालेको हो । बाढीका कारण केही घर पुरिएका छन् । मानिसहरु भने सुरक्षित स्थानमा सरेका कारण मानवीय क्षति हुन पाएन । तालामाराङस्थित प्रहरी चौकी समेत विस्थापित भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार १ असारमा जस्तै लेदो माटोसहितको बाढी आएको छ । यसले थप घरहरुमा क्षति पुगेको छ । गत राति नै रेडियो मेलम्चीको भवन बगाएको छ ।
हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर नदी थुनिएको थियो । त्यसपछि फुटेको पानीले थप क्षति गरेको हो । चनौटे बजारमा समेत पानीले थप क्षति गरेको छ । १ असारमा आएको बाढीले ५ जनाको मृत्यु भएको थियो । १५ जना अझै बेपत्ता रहेको छन् ।