सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षणका दौरान दुई कर्मचारी वेपत्ता भएका छन् । पानीले बगाएर उनीहरुलाई वेपत्ता पारेको छ । जसले गर्दा तत्कालका लागि सुरुङ परिक्षणको काम समेत स्थगित हुन पुगेको छ । मंगलबार आयोजनाको अम्बाथानस्थित फ्लसिङ (आवश्यक परेको समयमा पानी फाल्न बनाइएको) गेट एक्कासी खुलेर ४ जनालाई बगाएको थियो । त्यसक्रममा दुई जनाको उद्दार भएको छ । दुई जनालाई भने पानीले बगाएको छ ।
उनीहरुको अवस्था अज्ञात रहेको छ । दुर्घटनापछि आयोजनाको परीक्षण स्वरुप पानी हाल्ने काम रोकिएको आयोजनाले जनाएको छ । उनीहरु मंगलबार दिउँसो परीक्षणका क्रममा रहेको सुरुङको फ्लसिङ गेटमा पानी चुहावटको दर निरीक्षण गर्न गएका थिए । आयोजनाकाअनुसार गेटको निरीक्षणमा गएका एकजना इन्जिनियर र आयोजनाका सवारी चालक मेलम्चीको सुरुङमा बेपत्ता भएका हुन् ।
परमर्शदाता इप्टिसा र मेलम्ची खानेपानी बोर्डका एक–एक जना इन्जिनियर घाइते भएका छन् । सुरुङमा पानी चुहावटको अवस्था अध्ययन गर्न अम्बाथानको अडिट टनेल (मुख्य सुरुङमा जान बनाइएको सुरुङ) हुँदै फ्लसिङ गेटमा पुगेका बेला सुरुङमा पानीको चाप अत्यधिक भएर गेटको मेकानिकल नटहरु फुस्किएको बताइएको छ ।
प्रहरीका अनुसार बेपत्ताको खोजी भइरहेको छ । दुर्घटनापछि मेलम्चीको अस्थायी बाँधबाट सुरुङमा पानी हाल्न बन्द गरिएको छ । अब सुरुङ खाली गरी गेटहरुको अवस्था निरीक्षण गरेपछि मात्रै पुनः पानी हालिने भएको छ । २१ असारदेखि मेलम्ची सुरुङमा पानी हालेर परीक्षण सुरु भएको थियो ।