काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसीले शनिबार राती ऐतिहासिक रेकर्ड बनाएका छन् । ला लिगा फुटबलमा भ्यालेन्सियाबिरुद्ध बराबरी खेलेको खेलमा कप्तान लियोनेल मेसीले पेलेको कीर्तिमान भेट्टाउन सफल भएका हुन । एउटै क्लबका लागि पेलेले बनाएको सर्वाधिक गोलको कीर्तिमानसँग मेसीले बराबरी गरेका छन् ।
भ्यालेन्सियाबिरुद्ध बार्सिलोनाका लागि मेसीले करियरको ६४३ औं गोल गरे । यो संख्या महान फुटबलर पेलेले ब्राजिलियन क्लब सान्तोषका लागि गरेको अलटाइम करियर गोल थियो । मेसी सन् २००४ यता निरन्तर बार्सिलोनाबाट खेलिरहेका छन् ।
सोहीकारण उनलाई यो ऐतिहोसिक अवसर प्राप्त भएको हो । जुन इतिहासमा सायदै अर्को खेलाडीले तोड्न सक्नेछन् । मेसीले बार्सिलोनाबाट खेल्दै कैयौं विश्वरेकर्ड कायम गरेका छन् । जसले उनलाई इतिहासकै सफल खेलाडी बनाउन सहयोग गरेको छ ।
भ्यालेन्सियाबिरुद्ध शनिबार राति पहिलो हाफको इन्जुरी समयमा उनले दुर्लभ हेड गोल गरे । होचो कदका उनले हेडगोल एकदमै कम गरेका छन् ।
मेसीले बार्सिलोनाका लागि अहिलेसम्म १० लिग उपाधि, ४ च्याम्पियन्स लिग उपाधिसहित ३४ मुख्य उपाधि जितिसकेका छन् । उनी सर्वाधिक ६ वटा बालोन डि ओरको उपाधि जित्ने एक मात्र खेलाडी हुन् ।