मैत्रिपूर्ण खेलमा मोरिससलाई नेपालले हरायो, विमलले गरे गोल

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरिससलाई नेपालले हराएको छ । यी दुई मुलुकबीच पहिलो पटक भेटमा भएको हो । घरेलु मैदानमा भएको खेलमा नेपालले बाजी मारेको हो । विमल घर्ती मगरले गरेको एक मात्र गोल नेपालको जितमा निर्णायक बन्यो । शनिबार दशरथ रंगशालामा भएको खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरेका हुन् । २६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले उत्कृष्ट पुनरागमन गर्न सफल भए ।

सन् २०१९ नोभेम्बरमा म्यानमार विरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर भएका थिए । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले विमललाई यसपटक टिममा राख्द‌ै पहिलो रोजाइमा अवसर दिएका हुन् । उनी शनिबारको खेलको म्यान अफ दि म्याच बने । खेलमा नेपालले गोल गर्ने केही अवसर पाए पनि गोलमा परिणत हुन सकेन ।

पहिलो हाफमा नेपालले गोल गर्ने केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन । पहिलो हाफमा सुमन लामाले पेनाल्टी बक्स बाहिरबाट हानेको दुई प्रहार पोष्ट माथिबाट बाहिरियो । यस्तै अन्जन विष्टले दुई अवसर सदुपयोग गर्न सकेनन् । यसैगरी सुनिल बलको फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिएको थियो । नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुँदैछ ।