ढाका । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने बंगलादेश भ्रमणका सिलसिलामा शुक्रबार ढाका पुगेका छन् । तर, उनको ढाका भ्रमणका भने व्यापक विरोध भइरहेको छ । यस्र क्रममा ढाकामा भएको प्रदर्शन हिंसात्मक बन्द कम्तिमा ५ जनाको मृत्यु भएको बीबीसीले लेखेको छ ।
शुक्रबारको प्रदर्शनमा ४ जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको पुष्टी भएको छ । अर्का एक जना हिफाजात इस्लाम संगठनमा आवद्ध प्रदर्शनकारीहरूको पनि मृत्यु भएको समाचारमा उल्लेख छ ।
प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा प्रदर्शन चर्किएपछि प्रहरीले हस्तक्षेप गरेको छ । राजधानी ढाकाको बैतुल मुकरराम क्षेत्र तनावग्रस्त भएको थियो । प्रदर्शनमा थुप्रै मानिस घाइते भएको बताइएको छ । हिफाजात इस्लाम संगठनका नेता मुफीबुर रहमान हामिदीले प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको बताएका छन् ।
ढाकामा मुस्लिम समुदाय र वामपन्थी संगठनबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोध भइरहेको छ । बंगलादेशले भने सुरक्षामा आश्वस्त पार्दै भारतीय प्रधानमन्त्रीलाई स्वागत गरेको हो ।