विराटनगर । मोरङका दुई छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव फेला परेको छ । विराटनगर महानगरपालिका –१८ र सुन्दरहरैचा नगरपालिका–११ मा पुरुषको शव भेटिएको हो । विराटनगरबाट भारत जाने पालो पर्खिरहेको ट्रकका चालक बुधबार बिहान मृत भेटिएको इलाका प्रहरी कार्यालय रानी विराटनगरले जानकारी दिएको छ ।
भारतीय नम्बर प्लेटका ट्रक चालक भारत पञ्जाव घर भएका ५३ वर्षीय नुर मोहम्मदको मृत्यु भएको हो । उनी आफैंले चलाउने पीबी ९ एक्स २९६४ नम्बरको ट्रक भित्र मृत अवस्थामा भेटिएका छन् । मंगलबार सह–चालक पञ्जावकै २५ वर्षीय अब्दुल लतिकसँगै सुतेका नुर नउठेपछि सह–चालकले प्रहरीलाई यसबारे जानकारी गराएका थिए ।
शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लगिएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उता, मोरङको ग्रामथान गाउँपालिका–७ बाट मंगलबारदेखि हराइरहेका ३३ वर्षीय मनोज शाहको शव सुन्दरहरैचा नगरपालिका– ११ को झर्ना खोलामा भेटिएको छ ।
बुधबार दिउँसो सुन्दरहरैँचा नगरपालिका–११ बेलेपुरमा रहेको झर्ना खोलामा डुबेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । उनी मंगलबार दिउँसोबाट बेपत्ता भएका थिए । उनको शव समेत पोस्टमार्टमका लागि कोसी अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।