काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल वालेट, मोवाइल बैंकिङ तथा इन्टरनेट बैंकिङका माध्यमबाट हुने कारोकारको सीमा बढाएको छ । यसले उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
राष्ट्र बैंकले बिहीबार भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशिका जारी गरेको छ । जसअनुसार बैंक खाताबाट मोवाइल वालेटमा स्थानान्तरण हुने रकम प्रतिकारोबार ५ हजारबाट २५ हजार पुगेको छ ।
बैंक खाताबाट एकै पटक २५ हजार रुपैयाँसम्म मोबाइल वालेटमा ट्रान्सफर हुने भएको छ ।
बैंक खाताबाट वालेटमा दैनिक १ लाख रुपैयाँसम्म र मासिक ५ लाखसम्म ट्रान्सफर गर्न सकिने गरी नयाँ प्रावधान आएको छ ।
क्लासलेस कारोवारलाई बढावा दिन यो निर्देशिकाले सहयोग गर्ने भएको छ ।
अब एक वालेटबाट अर्को वालेटमा प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजारसम्म पठाउन सकिने भएको समेत राष्ट्र बैंकले उल्लख गरेको छ ।
एजेन्ट वा सबएजेन्टबाट एक दिनमा २५ हजार रुपैयाँसम्म वालेटमा पठाउन सकिने प्रावधान समेत आएको छ ।
यसअघि यस्तो सुविधाको सीमा १५ हजार मात्र थियो । मोबाइल तथा इन्टरनेट बैंकिङबाट प्रतिदिन ५० हजार वा प्रतिमहिना अधिकतम २ लाख तथा इन्टरनेट बैंकिङ प्रतिदिन १० लाखसम्म गर्न सकिने व्यवस्था आएको छ ।
एटिएमबाट एक पटक २५ हजार रुपैयाँसम्म र दैनिक १ लाख रुपैयाँसम्म झिक्न पाइने व्यवस्था भने यथावत राखिएको छ।
अब एटिएममा बैंकले २४ सैं घण्टा सुरक्षा गार्ड समेत राख्नु नपर्ने भएको छ ।
सुरक्षा गार्डको सट्टा २४ सै घण्टा मोनिटरिङको व्यवस्था गर्न बैंकहरुलोई निर्देशिका ल्याइएको छ ।