काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा भोजभतेर,पैसा बाँड्नेहरूलाई तत्काल कारबाही गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी मौन अवधिमा भोजभतेर गर्ने, पैसा बाँड्ने, सभा सम्मलेन गर्नेहरूलाई तत्कालै कारबाही गर्ने प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आज मध्यराति देखि मौन अवधि सुरू हुँदैछ। त्यसबीच आचारसंहिताको उल्लंघन भएको पाइएमा तत्काल कारबाही गर्ने चेतावनी दिएको हो। त्यसको लागि कारबाही गर्न सक्ने अधिकार दिएर १९ वटा उच्चस्तरीय टोली गठन समेत गरिएको आयोग प्रवक्ता सहसचिव पौडेलले बताए।
उनका अनुसार आयोगले तुलनात्मक रूपमा संवेदनशील स्थानहरूमा सो टोलीलाई परिचालन गरिसकेको छ। ‘निर्वाचन आचार संहिताको पूर्ण पालनाको लागि आयोगले उल्लंघनका घटनामा तत्काल कारबाही गर्न सक्ने अधिकारसमेत दिई १९ वटा उच्चस्तरीय टोली विभिन्न तुलनात्मक रूपमा संवेदनशील स्थानहरूमा परिचालन गरिएको छ,’ उनले भने। उक्त टोलीले आवश्यकताअनुसार निर्वाचनको गोपनीयतामा असर नपर्नेगरी निर्वाचनसँग सम्बन्धित दृश्यको छायाँकन गर्ने, भिडिओ क्यामरा वा अन्य विद्युतीय उपकरण समेत प्रयोग गर्न अधिकार दिएको छ। आयोगले मौन अवधिमा भोजभतेर, पैसा बाँड्ने काम पनि हुनसक्ने भन्दै तत्काल कारबाही गर्ने चेतावनी समेत दिएको छ।