काठमाडौं । काठमाडौंसहित देशका अधिकांश स्थानको आकास धुलाम्य छ । तुवाँलोले आकाश ढाकेको छ । तर, यो प्रदुषणसहितको तुवाँलो तत्काल नहट्ने भएको छ । जल तथा मौसम विभागले आगामी तीन दिनको मौसमी विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । वायुमण्डल स्थिर अवस्थामा रहिरहने छ, जसले गर्दा तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको विभागको भनाई छ ।
मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भएको भन्दै विभागले चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको बताएको छ । वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कण छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको विभागले जानकारी दिएको छ ।
देशका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गएको समेत विभागले जनाएको छ । तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले पुनः अुनरोध गरेको छ ।