मौसममा सुधार आएपछि गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान

भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आएपछि भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने जानकारी दिएका छन् । शनिबार विमानस्थल अनुगमनमा पुगेका उनले पछिल्लो केही दिनयतादेखि तराईमा लागेको तुवालो तथा मौसमको खराबी भएका कारण क्यालिब्रेशन फ्लाइट हुन नसकेको बताए । उनका अनुसार क्यालीब्रेसन फ्लाइटका तयारी पूरा भएको छ । मौसममा सुधार भएपछि उडान हुने छ ।

मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चाँडै उडान सुरु हुने बताए । उक्त विमानस्थलमा जडान गर्नुपर्ने थप नयाँ उपकरण तथा निर्माणका क्रममा रहेका भौतिक संरचना चाँडो निर्माण सम्पन्न गर्नसमेत मन्त्री आलेले निर्देशन दिए । उनले उक्त विमानस्थलको धावनमार्ग, कन्ट्रोल टावर, यात्रु आवागमन तथा प्रस्थान कक्षको समेत निरीक्षण गरेका थिए । क्यालिब्रेशन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरण साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणहरुले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्नु हो ।