म्यादी प्रहरीमा आजबाट आवेदन दिन सकिने

काठमाडौं । ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनको प्रयोजनका लागि नेपाल प्रहरीले आजबाट म्यादी प्रहरीको भर्ना खुलाएको छ । आइतबारबाट ११ गतेसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्ने प्रहरीले जनाएको छ । भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह मानिएको छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ ।

म्यादी प्रहरीले प्रहरी जवानसरह नै सेवा सुविधा पाउनेछन्। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर चुनावको सुरक्षामा खटाउने तयारी छ । म्यादी प्रहरीको प्रशिक्षण आउँदो २८ गतेदेखि सुरु हुनेछ । म्यादी प्रहरीले दिनको सात सय ५६ रुपैयाँका दरले तलब पाउनेछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ । यस पटक १ लाख म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।