काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गरि नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । म्यादी प्रहरीमा चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन सकिने भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले मंगलबार एक सूचना जारी गरि भर्ना खुलेको जानकारी गराएको हो । दर्खास्त फारम सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने छ । म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन पाउने सूचनामा उल्लेख छ ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने छ । २०७८ साउन १ गतेदेखि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्राथमिकता पाउनेछन् ।
नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र विगतका निर्वाचनमा म्यादी प्रहरीका रुपमा काम गरेकाले पनि प्राथमिकता पाउने भनिएको छ । म्यादी प्रहरी सम्बन्धी अन्तिम नतिजा २२ चैतमा प्रकाशित हुनेछ भने उनीहरुको सेवा अवधि ४० दिन रहेनछ ।
प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत तथा प्रशासन विभागका अनुसार म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब सरह (आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) ले ३० हजार २४० रुपैयाँ दिइनेछ । उनीहरुलाई खाद्यान्नवापत एकमुष्ठ ७ हजार २०० रुपैयाँ र पोशाक र अन्य सामग्री खरिदका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइने समेत सूचनामा उल्लेख छ ।