काठमाडौं । वैदेशिक रोजगार विभागले बुधबार श्रमिकसँग तोकिएको भन्दा बढी शुल्क असुल्दा असुल्दै एक म्यानपावर कम्पनीमा छापा मारेको छ । त्यसक्रममा म्यानपावरका कर्मचारीले पैसा झ्यालबाट बाहिर फालेर बच्ने कोसिस गरेका थिए । बत्तीसपुतलीस्थित गल्फ एसिया म्यानपावर कम्पनीमा छापा मारेर विभागले कम्पनीका सञ्चालक राजेश यादवलाई बिहीबार विभागमा हाजिर हुन निर्देशन दिएको छ ।
मलेसियाको इस्टोन कम्पनीबाट ५० जना पुरुष र ५० जना महिला कामदार लैजान कम्पनीले पूर्वा स्वीकृति लिएको थियो । त्यसअनुसार कम्पानीले ३५ जनालाई मलेसिया पठाइसकेको छ । बाँकी १७ जनालाई पठाउने क्रममा २ लाख ५० हजारसम्म माग गरिएको उजुरी विभागमा परेको थियो । २ जना श्रमिकले गरेको उजुरीका आधारमा विभागले पैसा बुझाउन गएका एक श्रमिकलाई पछ्याएको थियो । उनले यसअघि नै ५० हजार बुझाइसकेका थिए भने थप २ लाख बुझाउन जाँदै थिए । विभागको टोली आएको थाहा पाएका यादवले पैसा बुझ्नासाथ झ्यालबाट पैसा फ्याँकेका थिए ।