काठमाडौं\एजेन्सी । म्यानमारमा शनिबार प्रदर्शनकारीमाथि सेनाले अन्धाधुन्ध गोली चलाएको छ । यस क्रममा कम्तिमा ६० जना मारिएको बीबीसीले जनाएको छ । शनिवार यहाँ आर्म फोर्स डे मनाइएको थियो । त्यस क्रममा सेनाले प्रदर्शनकारीमाथि गोली चलाएको हो ।
समाचार सुत्रहरुले जनाए अनुसार ६० जनाको मृत्यु भइसकेको र यस्तो संख्या ९० भन्दा बढी रहेको आंशका गरिएको छ । अमेरिकी दूतावासले म्यानमारमा सुरक्षाबलले निहथ्था मानिसको ज्यान लिएको प्रतिक्रिया दिएको छ ।
आजै सैन्य प्रमुख मिन आंग लाइंगले त्यहाको राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै आफु लोकतन्त्रको रक्षाको पक्षमा रहेको र देशमा निर्वाचन हुने बताएका थिए । तर, उनले निर्वाचन कहिले हुन्छ, त्यसबारे भने कुनै बोलेनन् ।
सेनाले फेब्रुअरीमा सत्ता हत्याएसँगै यहाँ हिंसा भड्किएको छ । अहिलेसम्म प्रदर्शनका दौरान ४ सय जना भन्दा बढीको ज्यान गइसकेको छ ।