काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी सैन्य हिरासतमा परेकी छिन् । बीबीसीका अनुसार म्यानमारमा सैन्य कु भएको छ । सुकीलाई सेनाले हिरासतमा लिएको हो । सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका प्रवक्ताले वक्तव्य जारी गर्दै यसको पुष्टी गरेका छन् ।
केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाका बीच सुकीलाई सेनाले हिरासतमा लिएको हो । म्यानमारमा नोभेम्बर महिनामा आम निर्वाचन भएको थियो । जसमा सुकीको पार्टी पार्टी भारी मतसहित अग्रस्थानमा थियो ।
सेनाले चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै अमान्य भएको बताएको थियो । सेनाले सोमबार तय भएको संसद बैठक समेत स्थगित गर्न आह्वान गरेको छ । अहिले म्यानमारमा व्यापक सैन्य तैनाथी बढाइएको छ । राजधानीसहितका शहरमा सैनिकको कब्जामा छन् । राजधानीमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द भएको छ ।