काठमाडौं । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा ठूल्ठूला प्रदर्शन जारी छन् । पछिल्लो समय प्रदर्शन उग्र बनेको छ । त्यस क्रममा दमन गर्न प्रहरीले गोली चलाएको छ । अहिलेसम्म कम्तिमा १८ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । संयुक्त राष्ट्र संघको मानवाधिकार कार्यालयका अनुसार सबैभन्दा ठूलो हताहती शनिबारयता भएका प्रदर्शनमा भएको छ ।
कार्यालयका अनुसार सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका दिनमध्ये सबैभन्दा घातक दिन बनेको छ । आइतबार म्यानमारका यंगुन, दवेई र मन्डाले शहरमा प्रदर्शन भएको थियो ।
बीबीसीका अनुसार ती शहरमा प्रदर्शनकारी धेरै मारिएका छन् । फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएको थियो । त्यसपछि प्रदर्शन शुरु भएको हो । सरकारले प्रदर्शन रोक्न भनेको छ । तर, प्रदर्शनकारी उग्र बनेका छन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गरेको छ।