काठमाडौं । म्यानमारमा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ५४ जना पुगेको छ । गत मार्च २८ मा गएको भूकम्पमा सो संख्यामा मानिसहरुको ज्यान गएको म्यानमारको सैन्य सरकार जुन्टाले जनाएको छ । देशभरका भवन र पूर्वाधारसमेत ध्वस्त पारेको उक्त भूकम्पमा परी ४ हजार ५ सय ८ जना घाइते तथा २ सय २० जना बेपत्ता भएको जनाइएको छ । संयुक्त राष्ट्रसंघका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न आह्वान गरेका छन् ।
विपद् भएको एक साताभन्दा बढी समयपछि पनि देशका धेरै जना अझै आश्रयविहीन बनेका छन्, भने घरहरू क्षतिग्रस्त भएका कारण वा थप भत्किने डरले अझै बाहिरै सुत्न बाध्य छन् । यस भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्ने संयुक्त राष्ट्रसंघले अनुमान गरेको छ । चार वर्षदेखि गृहयुद्धको चपेटामा परिरहेको म्यानमारलाई भूकम्पले थप संकटमा पारेको छ ।