लण्डन । म्यानचेस्टर सिटीले यस सिजनको प्रिमियर लिग फुटबलको उपाधि उचालेको छ । सिटीले तीन खेल अगाडी नै उपाधी पक्का गरेको हो । मंगलबार राति दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड तेस्रो स्थानको लेस्टर सिटीसँग पराजित भयो । यो सँगै अब सिटीको अग्रता १० अंकको बनेको छ । सिटीले आगामी तीन खेल अगाडी नै उपाधी कब्जा गरेको हो ।
आगामी खेलमा युनाइटेड सबै खेलमा विजयी हुने र सिटी सबै खेलमा पराजित भएपनि सिटीको अंक बढी हुनेछ । म्यानचेस्टर युनाईटेडलाई लेस्टर सिटीले २-१ गोलले हराएको हो । युनाईटेडको ७० अंक छ । तेस्रो स्थानको लेस्टरको ६६ अंक छ । सिटीसँग ३ खेल अगाडी नै ८० अंक छ । पछिल्लो चार वर्षमा सिटीले तेस्रो प्रिमियर लिग उपाधि उचाल्न सफल भएको छ । सिटी यो सिजन च्याम्पियन्स लिगको फाइनलमा समेत भिड्दैछ । आगामी मे २९ मा प्रिमियर लिगको अर्को क्लब चेल्सीसँग उपाधि भिडन्त हुँदैछ ।