काठमाडौं । काठमाडौं-वनारस रुटमा यति एयरलाइन्सले परीक्षण उडान गरेको छ । बुधबार भएको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको कम्पनीले जनाएको छ । दक्षिण पूर्वी एसिया र दक्षिण एसियाका मुलुकहरूमा चार्टर्ड र नन् सेड्युल फ्लाइट गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको यतिले परीक्षण उडान पुरा गरेको हो ।
यसअघि बनारसमा बुद्धको उडान थियो । तर, कोरोना भाइरसपछि रोकिएको छ । कम्पनीले परीक्षण उडान पुरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझापछि यही प्रतिवेदनका आधारमा प्राधिकरणले अनुमति दिने प्रावधान रहेको छ । बुधबार यतिको परीक्षणका लागि वरिष्ठ पाइलट रमोदकुमार श्रेष्ठ तथा प्रमोद पौडेल सहितको उडान टोलीले उडान भरेको थियो ।
‘नाइन एन एएमएन’कल साइन भएको एटिआर ७२ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट बिहान १०ः ०७ बजे लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय हवाइ अड्डा वाराणसी, भारतका लागि उडान भरेर बेलुका ५ः४८ मा पुनः काठमाडौंमा अवतरण गरेको थियो ।
एयरलाइन्सले आगामी दिनमा मध्यम दुरीमा उडान गर्नका लागि मध्यम सिट जहाज भित्र्याउने लक्ष्य समेत राखेको छ । आगामी दिनमा चार्टर उडान मार्फत् थप पर्यटक भित्र्याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ । सन् २०२१ भित्रै दुईवटा एटिआर ७२ वायुयान थप्ने योजना बनाएको यस कम्पनीले अहिले एटिआर ७२ र जेटस्ट्रिम वायुयान मार्फत् विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।