यमनमा मन्त्रीपरिषद्का सदस्यलाई लक्षित गरी विमानस्थलमै आक्रमण, २२ को मृत्यु

केही साता अगाडी यमनमा मन्त्रिपरिषद्का सदस्य चढेको विमानलाई लक्षित गरि भएको आक्रमण PHOTO: REUTERS

काठमाडौं । यमनमा नयाँ मन्त्रीपरिषद्का सदस्यसहित प्रधानमन्त्रीसमेतलाई लक्षित गरी विमानस्थलमै भयानक आक्रमण भएको छ । आक्रमणमा २२ जनाको मृत्यु भ्एको छ । यद्दपी मन्त्रीपरिषद्का सबै सदस्य सकुसल रहेको बीबीसीेले उल्लेख गरेको छ ।

यमनको दक्षिणी शहर अदनको विमानस्थलमा मन्त्रिपरिषदका नयाँ सदस्यहरुलाई लक्षित गरी आक्रमण भएको हो । घटनामा कम्तिमा २२ को मृत्यु भएको र ५० जनाभन्दा बढी घाइते रहेको समाचारमा जनाइएको छ ।

सुरक्षा अधिकारीका अनुसार नयाँ सरकारका सदस्यहरुलाई लिएर छिमेकी देश साउदी अरबबाट एक विमान एयरपोर्टमा झर्नासाथ भयानक विष्फोट भएको हो । मारिनेमा विमानस्थलका कर्मचारी र अधिकारी रहेको बताइएको छ । प्रधानमन्त्री र उनको मन्त्रिपरिषदका सबै सदस्य सुरक्षित छन् ।

विष्फोटपछि प्रधानमन्त्री मइन अब्दुलमलिक सइद र उनको मन्त्रिपरिषदका सदस्यहरुलाई सुरक्षा घेरामा राखेर सुरक्षित स्थानमा लगिएको बीबीसीले जनाएको छ ।

यमनका संचारमन्त्री इरियानीले हुथी विद्रोहीबाट कायरतापूर्ण हमला भएको बताएका छन् । कम्तिमा दुई पटक विष्फोट भएको आवाज सुनिएको स्थानीयले जनाएका छन् । हुथी विद्रोहीहरुले देशको पश्चिमी क्षेत्रका अधिकांश भाग नियन्त्रणमा लिएका छन् ।