यसरी बढ्दैछ नेपालमा अनौपचारिक अर्थतन्त्र

काठमाडौं । नेपालमा कुल गार्हस्थ उत्पादनको ४३ प्रतिशतसम्म अनौपचारिक अर्थतन्त्र रहेको अनुमान एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले गरेको अध्ययनले नेपालमा अनौपचारिक अर्थतन्त्रको सम्भावित दायरा कुल गार्हस्थ उत्पादन (जीडीपी) को औसत ४२.६६ प्रतिशत रहेको छ । राष्ट्रिय लेखा विधिअनुसार आर्थिक वर्ष २०१०–११–२०२०–२१ लाई आधार मानेर गरेको अध्ययनले यस्तो देखाएको हो । विभाग प्रमुख प्राडा शिवराज अधिकारीका अनुसार नेपालमा अस्थिर सरकार, अस्थिर नीति र सरकारले लगाउने प्रतिबन्धका समयमा अनौपचारिक अर्थतन्त्र फस्टाउने गरेको पाइएको छ ।

कोभिड–१९ महामारीका बेला सरकारले नाकाबन्दी लगाएको थियो । त्यसबेला अनौपचारिक अर्थतन्त्रको आकार बढेको देखिएको छ । २०१८–१९ मा जीडीपीको ३७.६० प्रतिशत रहेको अनौपचारिक अर्थतन्त्रको आकार २०१९–२० मा ३९.१० प्रतिशतमा उक्लिएको छ । यस अध्ययनमा मुद्रा माग विधि र राष्ट्रिय लेखा विधि प्रयोग गरिएको छ । उनका अनुसार राष्ट्रिय लेखा अनुमान गर्दा अनौपचारिक वा प्रत्यक्ष अवलोकन नभएका आर्थिक गतिविधि अप्रत्यक्ष विधि प्रयोग गरी मापन गरिन्छ ।

राष्ट्रिय लेखाले अर्थतन्त्रका सबै पक्ष समेट्न थालेसँगै अनौपचारिक अर्थतन्त्रको आकारसमेत क्रमशः घट्दो क्रममा रहेको देखिएको छ । २०१०–११ मा राष्ट्रिय लेखा दृष्टिकोणबाट ४९.१० प्रतिशत रहेको अनौपचारिक अर्थतन्त्रको आकार २०२०–२१ मा आइपुग्दा ३८.६० प्रतिशतमा झरेको देखिएको छ । नेपालमा घरजग्गा र कृषि क्षेत्रमा सबैभन्दा धेरै अनौपचारिक अर्थतन्त्रको हिस्सा रहेको देखिएको छ ।

तथ्यांकअनुसार घरजग्गामा ९९.९७ प्रतिशत अनौपचारिक अर्थतन्त्रको हिस्सा देखिएको छ । यो पछिल्लो १० वर्षको औसतका आधारमा देखिएको हो । कृषि, वन र मत्स्यपालनमा ९६।.८ प्रतिशत हिस्सा छ । भोजन तथा आवासमा ५०.४२ प्रतिशत हिस्सा अनौपचारिक छ ।

कार्यालयका पूर्वनिर्देशक तथा तथ्यांक जानकार भण्डारीका अनुसार नेपालमा देशभरि रहेका घरजग्गाले अर्थतन्त्रमा गरिरहेको योगदानका गणना नै भएको छैन । अहिले हुने घरजग्गा किनबेच र घरभाडा कारोबार कुल घरजग्गा अर्थतन्त्रको एक प्रतिशत पनि छैन । सोहीकारण घरजग्गामा शतप्रतिशत हिस्सा अनौपचारिक देखिएको हो ।