यस्तो छ चिनियाँ विदेशमन्त्रीको भ्रमण तालिका

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी आज शुक्रबार अपराह्न तीन बजे काठमाडौं आइपुग्दैछन्। वाङ नेतृत्वको टोली आज साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने कार्यतालिका रहेकोमा दुई घण्टा अगाडि सरेको छ।

नयाँ दिल्लीबाट काठमाडौं आउन लागेका वाङलाई विमानस्थलमा परराष्ट्रमन्त्री नारायण खड्काको टोलीले स्वागत गर्नेछ। विमानस्थलबाट उनी सिधै बत्तिीसपुतलीस्थित होटल द्वारिकाज पुग्नेछन् र केहीबेर आराम गरेर बालुवाटारस्थित चिनियाँ दूतावास पुगेर ब्रिफिङ लिनेछन्। आजका लागि वाङको कुनै औपचारिक भेटघाट तय नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

भ्रमणको दोस्रो दिन शनिबार भने वाङ निकै व्यस्त रहनेछन्। बिहान साढे ६ बजे विदेशमन्त्री वाङ शिवपुरी हाइकिङ जाने कार्यक्रम तय भएको छ। त्यसपछि उनको टोलीले परराष्ट्रमन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेटघाट गर्नेछ। त्यसक्रममा विभिन्न सहमति तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ। त्यसपछि उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधभानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्।

शनिबार नै विदेशमन्त्री यी र प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ। पोखरा विमानस्थल चिनियाँ सरकारको ऋण तथा अनुदान सहयोगमा निर्माण भएको हो।

काठमाडौं ओर्लिएको तेस्रो दिन आइतबार बिहान वाङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेट गर्नेछन्। राष्ट्रपतिपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम तय भएको छ। पूर्वप्रधानमन्त्रीद्वयसँगको भेट नक्सालस्थित होटेल मेरियटमा तय भएको बताइएको छ। त्यसपछि वाङ होटल द्वारिकाज जाने र त्यहीँबाट स्वदेश फर्कने कार्यतालिका छ।

वाङको सुरक्षामा नेपाल प्रहरीको विशेष टोली तैनाथ गरिएको छ। बिहीबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले चिनियाँ विदेशमन्त्री यीको सुरक्षामा विशेष टोली तैनाथ गर्न निर्देशन दिएको थियो। भ्रमण र भेटघाटका क्रममा पर्ने रूटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली खटिनेछ।