काठमाडौं । निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्बोधनमा संसारभरिका मानिसलाई बिहीवार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपिल गरेका छन् । बिबिसीका अनुसार आफ्नो दैनिक सम्बोधनका क्रममा केही बेर अङ्ग्रेजीमा बोल्दै उनले मानिसहरूलाई युक्रेनी प्रतीक लिएर आउन भनेका छन्।
उनले भने, “तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्।” “मार्च २४ मा युद्ध रोक्न चाहने सबैजना एकत्रित हुनुस्।” उनले युक्रेनमा रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडिरहेको पनि बताए।
रुसको निर्मम र मुढे बललाई संसारले रोक्नुपर्ने उनले बताए। रुसले आक्रमण गरेको एक महिना बितिसकेको र यसबीच आफ्नो, सबै युक्रेनी जनताको अनि यस धरतीका सबै स्वतन्त्र मानिसको मुटु चुँडिएको उनले उल्लेख गरे । ब्रसल्समा नेटो बैठक हुन लागेको बेला उनको सम्बोधन आएको छ। बुधवार युक्रेनको राजधानी किएभका भूभागमा निरन्तर रुसी बमबारी भएका छन्।