युक्रेनका राष्ट्रपतिले देश छाड्न मानेनन्, अमेरिकाले गरेको थियो प्रस्ताव

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राति आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने रुसी योजना युक्रेनी सुरक्षा बलले विफल बनाइदिएको सार्वजनिक गरेका छन् । भिडिओ सन्देशमा उनले युक्रेनमाथिको आक्रमण रोक्नका लागि आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाव सिर्जना गर्न रुसी जनतालाई आग्रह समेत गरेका छन्। बीबीसीका अनुसार युक्रेनी सेनाले किएभ र वरपरका सहरहरू आफ्नो नियन्त्रणमै राखेको छ ।

आफ्नो देशसँग युरोपेली सङ्घको सदस्य हुने अधिकार समेत रहेको राष्ट्रपतिले बताए । अझैसम्म युरोपेली सङ्घको सदस्य नरहेको युक्रेनको संविधानमा युरोपेली समूहमा सहभागिता जनाउने आकाङ्क्षा व्यक्त गरिएको छ । यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनबाट उनलाई उद्धार गर्ने वाशिङ्टनको प्रस्तावलाई अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

‘लडाइँ यहाँ भइरहेको छ। मलाई हतियार चाहिएको छ, कुनै सवारी होइन,” अमेरिकी समाचार संस्था एपीले वार्तालापबारे जानकारी भएका एक वरिष्ठ गुप्तचर अधिकारीलाई इङ्गित गर्दै जेलेन्स्कीले त्यसो भनेको जनाएको छ। द वाशिङ्टन पोस्टले पनि अमेरिकी र युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सरकार जेलेन्स्कीलाई सहयोग गर्न तयार रहेको जनाएको छ। रुसी हमलाविरुद्ध जनाएको प्रतिक्रियाका कारण जेलेन्स्कीको समाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।