युक्रेनका ४ भू-भाग रुसमा भाग्दै पुटिन

Photo source : Yuri Kadobnov—AFP/Getty Images\TM

मस्को\एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका ४ भू–भाग रुसमा गाभिएको घोषणा गर्ने भएका छन् । रुसले एकलौटी रुपमा सो भेगमा पाँच दिनसम्म जनमतसंग्रह गरेको थियो । युक्रेनका लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सनलाई शुक्रबार औपचारिक रूपमा आफूमा गाभिएको घोषणा गर्ने तयारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनको दक्षिण पूर्वमा रहेका ती क्षेत्रहरू रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिन्छ ।

जनमतसंग्रहमा ती क्षेत्रका लगभग सबैजसो नागरिकले रुसमा गाभिने पक्षमा मत दिएको रुसको दावि छ । रुसी राष्ट्रपति पुटिनले एक समारोहमा ती क्षेत्र आफ्नो देशमा गाभिएको घोषणामा हस्ताक्षर गर्नेछन् । त्यसपछि विशेष भाषण गर्नेछन् । त्यसका लागि राजधानी मस्कोस्थित रेड स्क्वायरमा भव्य मञ्च तयार गरिएको बीबीसीले लेखेको छ । समारोहमा अतिक्रमित क्षेत्रका दुई पृथकतावादी नेतासमेत सहभागी हुनेछन् ।

राष्ट्रपति पुटिनले आफ्नो ७० औं जन्मदिनको तीन दिनघघि अर्थात् अक्टोबर ४ मा रुसको माथिल्लो सदनमा सम्बोधन गर्नेछन् । रुसको पछिल्लो कदम सन् २०१४ मा क्राइमियालाई आफूमा गाभ्ने कदमसँग मिल्दोजुल्दो छ । क्रेमलिनले मतपरिणम यसअघि तयार गरिसकेको र जनमत संग्रहलाई युक्रेनी क्षेत्रलाई अवैध रूपमा हडप्ने साधनका रूपमा प्रयोग गरेको पश्चिमा देशहरूको दाबी छ ।