काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिलेसम्म १,३०० युक्रेनी सैनिक र झन्डै १२,००० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन्। एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रवारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको बताएको बीबीसीले लेखेको छ । जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि आफू त्यसप्रति खुसी नभएको बताए। रुसले युक्रेनमा आक्रमण गरेको १७ दिन भइसकेको छ।
अठारौँ दिन बिहान विभिन्न सहरहरूमा विस्फोटन भइरहेको विवरण प्राप्त भएको छ। केही दिनअघि अमेरिकाले दुई साताको अवधिमा झन्डै ५,००० देखि ६,००० रुसी सैनिकको मृत्यु भएको अनुमान गरेको थियो। मृतकको अनुमानित सङ्ख्याका आधारमा घाइते हुने सैनिकको सङ्ख्या १५,००० देखि १८,००० भएको बताइएको थियो। प्रायः युद्धमा घाइते सैनिकको सङ्ख्या मृतकको सङ्ख्या भन्दा तीन गुना हुने गर्छ।