काठमाडौं । रूस र युक्रेनबीचको युद्ध ११ औं दिनमा प्रवेश गरेको छ । रुसले सोचेभन्दा फरक परिणामका बीच युक्रेनी सेनाले शक्तिशाली मुलुकको डटेर मुकाविला गरिरहेको छ । उता, युक्रनेको राजधानी कीएभको उत्तर पश्चिम क्षेत्रमा रहेका शहरहरुमा रूसी सेनाको धन्दाधुन्ध कारवाही जारी छ । यी स्थानमा फसेका नागरिकलाई बाहिर निकाल्न रुसले आक्रमण केही मथ्थर पार्ने बताइएको थियो । तर, त्यसो नभई निरन्तर आक्रमण भइरहेको युक्रेनको आरोप छ । ती भुगमा मानिसहरु पैदल वा सवारी साधनका माध्यमबाट भए पनि बाहिर निस्कने प्रयासमा छन् । रुसी सेना युक्रेनको राजधानी कब्जा गर्ने मिसनमा छ ।
यसलाई त्यहाँको सेनाले रोकिरहेको छ । शनिबार यस भेगमा निरन्तर गोली हानिएको समाचारमा जनाइएको छ । राजधानी प्रवेश गर्ने सडकहरुमा युक्रेनी सेनाले गरेको अवरोधका कारण रुसी सैनिकले केही पछाडी हट्नु परेको थियो । युक्रेनी अधिकारीहरुका अनुसार शनिवार रुस आफैले घोषणा गरेको अस्थायी युद्धबिरामको नियम एक घण्टा पनि पालना भएको छैन । सोहीकारण हजारौं गैरसैनिक मानिस युद्धग्रस्त क्षेत्रमा फसेका छन् ।