युक्रेनको परमाणु केन्द्रमा बमबारी, राष्ट्रसंघको चेतावनी

file

काठमाडौं । युक्रेनको जापोरीजा परमाणु ऊर्जा केन्द्रमा थप बमबारी भएको छ । परमाणु केन्द्रमा गरिएको आक्रमणमा रुस र युक्रेन दुवैले एक अर्कालाई आरोप लगाएका छन्। युरोपकै सबैभन्दा ठूलो ऊर्जा उत्पादन केन्द्रको कार्यालय र अग्नि केन्द्रमा १० वटा प्रहार भएको युद्धरत दुवै पक्षले बनाए। यस विषयमा छलफलका लागि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पनि छलफल भइरहेको छ। राष्ट्रसङ्घको परमाणु निगरानी निकाय प्रमुख रफाएल ग्रोसीले आक्रमणलाई गम्भीर समय भएको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले घटनाले विपत्ति निम्त्याउन सक्ने बताएको बीबीसीले लेखेको छ । रुसले विश्वकै सबैभन्दा खराब आणविक दुर्घटना निम्त्याउन खोजिरहेको आरोप युक्रेनले लगाएको छ। यो परमाणु ऊर्जा केन्द्र गत मार्चयता रुसको कब्जामा छ। बुधवार औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका विदेश मन्त्रीहरूको बैठकले उक्त ऊर्जा केन्द्रको नियन्त्रण रुसले तत्काल युक्रेनलाई फिर्ता गर्नुपर्ने बताएको थियो।

अमेरिकाले पनि यो ऊर्जा केन्द्रलाई गैरसैनिक इलाका घोषणा गरिनुपर्ने माग गरेको छ। मध्यपूर्वी युक्रेनमा रहेको यो केन्द्रमा गत साता पनि आक्रमण भएको थियो र आक्रमणमा दुवै देशले एक अर्कालाई आरोपित गरेका थिए। युक्रेनले उक्त केन्द्रमा रुसले सैन्य अखडा बनाएको र प्रतिकार गर्न नमिल्ने भएकाले त्यहाँबाट आक्रमण गरिरहेको आरोप लगाएको छ। तर मस्कोले यसको खण्डन गरेको छ।

बिहीवार एक वक्तव्य जारी गर्दै युक्रेनको आणविक ऊर्जा निकायले रुसी आक्रमणकारीले पुनः जापोरीजा केन्द्रमा आक्रमण गरेर आतङ्क सिर्जना गरेकोू दाबी गर्‍यो। युक्रेनले प्रशासनिक कार्यालयनजिकै भएको आक्रमणबाट धेरै रेडिएसन सेन्सरहरूमा क्षति पुगे पनि मानिसहरू घाइते नभएको जनाएको छ। त्यहाँको अवस्था अहिले नियन्त्रणमै रहेको दाबी गरिएको छ। उक्त क्षेत्रमा रुसले नियुक्त गरेका अधिकारीहरूले पनि युक्रेनले जस्तै वक्तव्य निकालेका छन् तर उनीहरूले बमबारी युक्रेनले गरेको आरोप लगाएका छन्।

उनीहरूले युक्रेनी फौजले एकसाथ धेरै रकेट प्रहार गर्न मिल्ने प्रणाली र ठूला तोपहरूको प्रयोग गरेको बताएका छन्। दुवै पक्षको दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन। बिहीवार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् बैठकमा बोल्दै ग्रोसीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईएलाई उक्त परमाणु ऊर्जा केन्द्रको अवलोकन गर्न दिइनुपर्ने माग गरे। ‘यो गम्भीर समय हो। चिन्ताजनक समय हो। आईएईएलाई यथाशक्य छिटो जापोरीजामा जान अनुमति दिइनुपर्छ,’ उनले भने।